पानी पानी, बचाउ बचाउ भन्ने मात्र सुनिन्थ्यो


धनगढी, पुस २९ - 'निद्राले आँखा लोलाइरहेको थियो,' ढोकाछेउकै सिटमा बसेकी घाइते ४५ वर्षीया इन्द्रसरा खड्काले शनिबार पदमा अस्पतालको शय्याबाट भनिन्, 'खलासी ढोका खोलेर पछाडिको चक्कातर्फ हेर्दै थियो ।' टायरमा हावा कम भएर हो वा साइड हेर्न हो, त्यो उनले बुझेकी थिइनन् । यात्रु कोही निदाइसकेका र कोही निदाउने क्रममा थिए । बत्ती नभएर बसभित्र
अँध्यारो थियो । डोटेली लयको गीत बजिरहेको थियो । डोटीको छतिवन गाविसमा पर्ने भीमदत्त राजमार्गको रुवसडाँडाको घुम्तीमा बस चिप्लिएर घोप्टिँदै गल्र्यामगुर्लुम खस्यो र इन्द्रसराको पनि होस गुम्यो । निकै ठूलो कोलाहलबाट भीरको एक झ्याङमा बेहोस अवस्थामा अड्किएकी इन्द्रसराको होस खुल्यो । 'मध्यरात बाक्लो हुस्सु र कुहिरोले माथि-तल केही देख्दिनँ,' उनले भनिन्, 'तल-माथि भीर जस्तो लाग्यो ।' उनले पानी पानी, बचाउ बचाउको ठूल्ठूलो आवाज तल्तिरबाट आइरहेको सुनिन् । 'बस खसेको तर आफू बचेछु भन्ने लाग्यो,' उनले भनिन्, 'अब कसरी सडकमा पुगुँ भन्ने भयो ।' अर्काे झ्याङमा टर्च बलेको थियो । उनले मान्छे छ कि भनेर अवाज दिइन् तर कुनै आवाज आएन । उनी भीरमा झ्याङको सहारा लिएर टर्च भएको ठाउँमा पुगिन् । कसैलाई देखिनन् । माथि सडकतर्फ उक्लिन खोजिन् । टाउकोमा लागेको चोटको पीडा सहनै धौ-धौ । तैपनि सडकमा पुग्न सफल भइन् । उनी रोड उक्लिन सक्नु र एउटा बस पहाडबाटै आइराखेको ठ्याक्कै समय मिल्यो । उनी चिच्याएर रोक्न लगाइन् । बस खसेको बताइन् । उनका अनुसार बसका यात्रु सबै उत्रिए तर उद्धार गर्न सहज थिएन । त्यसपछि पुलिसलगायत सबै ठाउँमा खबर भयो । यात्रुले आगो बाले र यात्रुले नै ओड्ने कपडा दिए । अछाममा रहेका आफ्ना शिक्षक श्रीमान् र टीकापुरमा पढ्न लागेका छोराछोरीलाई खबर गरिन् । पुलिस करिब २ घन्टापछि घटनास्थल पुग्यो । अर्का घाइते जयबहादुर चौधरी बसभित्रै जोगिए ।
'बल्लबल्ल म बसभित्रबाट निस्कन सकें, सबै पानी पानी भनेर छटपटाइराखेको देखें,' उनले भने, 'उक्लिन सक्ने स्थिति थिएन । बचाउ बचाउ भनी कराइराखें, धेरैबेरपछि पुलिस आइपुगे र मलाई पनि उद्धार गरेर सडकमा ल्याए ।' इन्द्रसरा र चौधरीको उपचार कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा भइरहेको छ । अत्तरियामा उपचारका लागि ल्याइएका ११ जना घाइतेलाई कोहलपुर अस्पतालमा रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक घनश्याम अर्यालका अनुसार अछाम घर भएका मीनराज भट्टराई, पवित्रा बोहरा, तपेन्द्र रावल, गुलावी रावल, मञ्जु रावल, मीना रावल, जनक रेग्मी, रामसिंह लुहार, भीमराज तिमिल्सिना र नृपबहादुर बिष्ट गरी ११ को रिफर गरिएको छ । अर्यालले प्रारम्भिक अनुसन्धानबाट बाक्लो कुहिरो र शीतले सडक चिप्लो भएका कारण दुर्घटना हुन पुगेको बताए ।

0 comments

Write Down Your Responses